स्वास्थ्य र जीवनशैली

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको निर्देशकमा डा. रामचन्द्र सापकोटा नियुक्त



हेटौंडा,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।
मन्त्री थापाले हेटौंडा अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्वको आवश्यकता भएको बताउनुभयो । उहाँले डा. सापकोटा जस्तो अनुभवी र दक्ष चिकित्सकको नेतृत्वमा अस्पतालको सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण हुने बताउनुभयो  ।
चितवनबासी डा. सापकोटा वरिष्ठ अर्थोपेडिक सर्जन डा. सापकोटा हाल हेटौंडा अस्पतालका नि. निर्देशकको रूपमा कार्यरत रहनुभएको थियो । पोखरास्थित मणिपाल मेडिकल कलेजबाट स्नातक तह (MBBS) र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जबाट स्नातकोत्तर (MS Orthopedics) अध्ययन पूरा गर्नुभएका डा. सापकोटा दशौं तहका चिकित्सकका रूपमा लामो समयदेखि सेवा प्रदान गर्दै आउनु भएको छ ।
नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण  बनाउन  प्रतिबद्ध रहने बताउनुभयो । सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुने उहाँको भनाई छ ।
नव नियुक्त निर्देशकले उपकुलपति डा. प्रदिप ज्ञवालीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे र डा. खगेश्वर गेलाल, अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरू उत्सव चौलागाईं, हिरा वाइबा, लक्ष्मी पौडेल, प्रतिष्ठानका प्राध्यापक सुपेन्द्र कार्की र प्रशासन प्रमुख अमर अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार, ,