देश / प्रदेश

कास्कीका दुग्ध उत्पादक किसानलाई अनुदान



कास्की– कास्कीमा गत आर्थिक वर्ष २०८१-८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर तीनका दरले अनुदान दिएको हो ।

व्यावसायिक किसानले उत्पादनका आधारमा अनुदान पाएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले बताए। उनका अनुसार जिल्लाका दुग्ध उत्पादक किसानले समूह तथा सहकारी संस्थाबाट प्रदेश सरकारले दिएको अनुदान रकम पाएका हुन् ।

उनका अनुसार कार्यालयले अनुदानका लागि आह्वान गरेकामा २६ वटा सहकारी संस्था छनोट भएका थिए । सहकारीका माध्यमबाट किसानलाई अनुदान रकम वितरण गरिएको थियो ।

कूल ५१ लाख १४ हजार नौ सय ६३ लिटर दूधमा अनुदान दिइएको कार्यालयले जनाएको छ । उत्पादनका आधारमा दिइने अनुदान वास्तविक कृषिकसम्म पुग्ने र अनुदानको दुरुपयोग हुन नपाउने भएकाले यसप्रति किसानको आकर्षण बढेको पशु विकास अधिकृत पाण्डेले बताए ।

प्रकाशित : ११ श्रावण २०८२, आइतबार, ,