काठमाडौं,टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा राखिएको एउटा कन्टेनरको पछिल्लो भागमा लेखिएको छ यो सायरी । यस कन्टेनरका चालक हुन्, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा । यस कन्टेनरलाई सोमबार राति ११ बजे काठमाडौंस्थित टोखाको झोरबाट नियन्त्रणमा लिइएको थियो । कन्टेनरसँगै यसका चालक कुसाङलाई समेत पक्राउ गरिएको थियो । उनी केही समयदेखि काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित गोकर्णमा डेरा गरी बस्दै आएका थिए । सो कन्टेनर उनकी आमाको नाममा रहेको छ ।

वास्तवमा कन्टेनरको पछिल्लो भागमा लेखिएको सायरीझैं कन्टेनर चालक कुसाङलाई पनि रोडमा गुड्दागुड्दै नोटमा कमाउनु थियो । नोट त नोट, तर त्यस कन्टेनरमा नेपाली नोट नभई डलर र युरो थियो । धेरै कमाउने लोभमा परेका चालक कुसाङले अब यही कारण जिन्दगीको गहु्रङ्गो भारी बोक्नुपर्नेछ, चोटैचोट अनि तनावको ! धेरै कमाउने लोभमा डलर र युरोको भारी बोकेका उनले अब कानुनी लडाइँको भारी पनि बोक्नुपर्नेछ ।
काठमाडौंबाट डलर र युरोको भारी बोकेर नोट कमाउन रसुवागढीतर्फ जाँदै गरेका उनी पक्राउ परेसँगै चोटैचोटको भारी बोक्नुपर्ने अवस्था आइलागेको हो । काठमाडौंबाट रसुवागढी जान लागेका उनले चलाएको ना७ख १६५२ नम्बरको कन्टेनरमा अमेरिकी डलर ३ लाख २० हजार ८ सय ५० तथा १३ लाख ७५ हजार १ सय ५० युरो थियो । जसमा १०० दरका ३ हजार १ सय १९ थान र ५० दरका १ सय ७९ थान अमेरिकी डलर थिए । यसैगरी, ५ सय दरका युरो ११ थान, २ सय दरका ४ सय ८० थान, १०० दरका ४ हजार १ सय ४८ थान र ५० दरका १७ हजार १ सय ७७ थान युरो थियो ।
सो कन्टेनरमा अवैध डलर र युरो रहेको सूचना पाएको प्रहरीले उनी र कन्टेनरलाई सोमबार राति ११ बजे नियन्त्रणमा लिएको हो । यी दुवै रकमको मंगलबारको सटही दरअनुसार नेपाली रुपैयाँ २५ करोड १९ लाख २४ हजार हुन आउँछ ।
सो कन्टेनरमा काठमाडौंबाट तस्करी गरेर चीनतर्फ रकम लैजाँदै गरेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका नायब उपरीक्षक (डीएसपी) अनिल घिमिरे दुई जना प्रहरी निरीक्षकलाई साथमा लिएर खोजीमा निस्किएका थिए । टोखाको झोरमा सो कन्टेनर भेटेपछि घिमिरे नेतृत्वको प्रहरी टोलीले चालकलाई रोकेर सामान्य खानतलासी ग¥यो । तर, तत्काल सो कन्टेनरमा केही भेटिएन ।
तैपनि प्रहरी टोलीले उनीमाथिको सोधपुछलाई निरन्तरता दिइरह्यो । प्रहरी टोलीको निरन्तरको सोधपुछपछि चालक ‘पसिनापसिना’ बने । उनी आवश्कताभन्दा धेरै नै डराएको देखेपछि डीएसपी घिमिरे नेतृत्वको प्रहरी टोली पनि अचम्ममा प¥यो । प्रहरी टोली अचम्मका पर्नुको अर्काे कारण थियो, रित्तो कन्टेनरमा सामान छ भन्ने उनको जवाफ ।
त्यसपछि चालकसहित कन्टेनरलाई टेकुस्थित कार्यालयमा लगियो । त्यहाँ कन्टेनरको थप खानतलासी गर्दा चालकको ठीक माथि डोनटमा फल्स बटन बनाएर तस्करी गरी लैजाँदै गरेको अवस्थामा अमेरिकी डलर र युरो भेटिएको थियो ।
‘हामीले भिडिओ खिच्दै ट्रकमा पैसा राख्न मिल्नेजस्ता ठाउँको खोजी ग¥यौं, चालक बस्ने क्याबिनमाथि फल्स बटन बनाएर त्यहाँभित्र पोका–पोकामा पैसा राखिएको रहेछ,’ प्रहरी स्रोतले मंगलबार दिउँसो भन्यो, ‘राति नै हामीले पैसा गन्यौं, करिब २५ करोड रुपैयाँभन्दा बढी थियो, आज पनि बिहान मेसिन ल्याएर फेरि पैसा गन्यौं ।’
त्यसो त, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई सुन तस्करीका लागि नेपालबाट डलर ठूलो परिमाणमा चीन लैजान लागिएको सूचना यसअघि नै आएको थियो । तर, सूचना आए पनि कहाँबाट, कसरी र कसले लैजाँदै छ भन्ने केही जानकारी प्रहरीसँग थिएन । सूचनापछि शंकित व्यक्तिको खोजी गर्दैजाँदा नियन्त्रणमा लिइएको कन्टेनर ’round सोमबार साँझपख चिनियाँ व्यक्तिहरूको चहलपहल देखेपछि प्रहरीले त्यस कन्टेनरलाई निगरानीमा राखिरहेको थियो । जब रात बढ्दै गयो, सो कन्टेनर टोखा हुँदै झोरतर्फ अगाडि बढेपछि भने प्रहरीलाई शंका लाग्यो । त्यसपछि पिछा गरेको प्रहरी टोलीले सो कन्टेनर र चालकमाथि सोधपुछ अगाडि बढाएको थियो । आजको राजधानी दैनिकबाट
प्रतिक्रिया