काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित रूपमा पुनः काममा फर्किएका छन् । पछिल्लो समय केही उतारचढावकाबिचमा नियमित काममा सहभागी हुन नपाएका प्रमुख कार्यकारी पाण्डे जेठ एक गतेदेखि नैं नियमित कामकाजमा फर्किएका हुन।
बैंक स्रोतका अनुसार पाण्डे हाल नियमित रूपमा कार्यालय उपस्थित भई बैंकको दैनिक प्रशासनिक तथा व्यवस्थापकीय काममा संलग्न भइरहेका छन् । केही सञ्चारमाध्यममा उनको राजीनामा सम्बन्धी चर्चा बाहिरिए पनि बैंकले त्यसलाई असत्य भएको स्पष्ट पारेको थियो । बैंकका वरिष्ठ अधिकारीहरूले प्रमुख कार्यकारी पाण्डेले जिम्मेवारी सम्हालिरहेकाले बैंकको नियमित कामकारबाही प्रभावित नभएको बताएका छन्।
प्रमुख कार्यकारी अधिकृत पाण्डे काममा फर्किएको बिषमा बैंकले बिज्ञप्ती जारी गर्दै भनेको छ, मिति २०८३ वैशाख २९ गते यस बैंकका प्रमुख कार्यकारी अधिकृतज्यूलाई ऋणी स्मार्ट टेलिकमको कर्जा असुली प्रक्रियाअन्तर्गत सम्पन्न भएका धितो लिलामी कारवाही लगायतका कार्यलाई फरक ढङ्गले हेरि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको उपर सम्मानित सर्वोच्च अदालतले मिति २०८३ जेठ १ गते उहाँलाई रिहा गर्ने आदेश जारी भए पश्चात प्रमुख कार्यकारी अधिकृतज्यूले आजकै मितिबाट बैंकको नियमित कार्य सूचारु गर्नुभएको जानकारी गराउँदछौं।
सम्मानित अदालतबाट आएको फैसलाको उच्च सम्मान गर्दै यस बैंक सदैव प्रचलित कानूनको शासन र न्यायपालिकाप्रति पूर्ण प्रतिबद्ध रही नियमनकारी निकायको निर्देशन पूर्ण पालना गर्दै अनुसन्धान निकायलाई पूर्ण रुपमा सहयोग गर्दै आएको तथा आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । विद्यमान प्रचलित कानूनको अधीनमा रही गरिएका बैंकका सम्पूर्ण कामकारबाही निक्षेपकर्ता, लगानीकर्ता, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको हितलाई केन्द्रमा राखेर सम्पन्न गरिएको र हाल आएको यस आदेशले बैंकलाई अझ दृढताका साथ सम्पूर्ण सरोकारवालाको हितमा काम गर्न थप ऊर्जा, आत्मविश्वास र हौसला प्रदान गरेको हाम्रो निष्कर्ष रहेको छ।
यस कठिन घडीमा बैंकप्रति निरन्तर विश्वास, सहयोग र ऐक्यबद्धता जनाउनुहुने नियामक निकाय, विभिन्न पेशागत संघ संगठन, ग्राहकवर्ग, सञ्चारकर्मी एवमं अन्य सम्पूर्ण सरोकारवाला प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दै आदरणीय ग्राहकहरुलाई अझ बढी गुणस्तरीय, सुरक्षित र विश्वसनीय सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको व्यहोरा अनुरोध गर्दछौं । बैंकले बिज्ञप्ती मार्फत भनेको छ।
























प्रतिक्रिया