काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले विजेता बनेकी हुन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।
उपाधिसँगै गंगाले ट्रफी, नगद २५ लाख रुपैयाँ र विभिन्न उपहार प्राप्त गरेकी छन्। यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर पहिलो रनरअप बनेकी छन् भने चितवनकी दर्शना गान्धारी दोस्रो रनरअप घोषित भएकी छन्। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित विभिन्न उपहार हात पारेका छन्।
त्यस्तै, दार्जिलिङका अभिनय खाती चौथो स्थानमा रहेर एक लाख रुपैयाँ पाएका छन् भने काठमाडौंका मृनल मानन्धर पाँचौँ बनेर एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
यसपटकको निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने कार्यक्रमको सञ्चालन आसिफ शाहले गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शो निर्देशन गरेका थिए। फिनाले ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजना भई लाइभ प्रसारण गरिएको थियो।
यसअघि नेपाल आइडलका उपाधि क्रमशः बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापामगर र करण परियारले हात पारेका थिए।























प्रतिक्रिया