breaking news

विपिन जोशीको भिडियो सार्वजनिक : ‘म यहाँ आएको २५ दिन भयो



काठमाडौं । सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको भिडियो सार्वजनिक गरिएको छ। इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त फुटेज उनको परिवारको अनुमतिमा बुधबार सार्वजनिक गरेको हो।

यो भिडियो अपहरणपछिको दुई वर्षमा विपिन जीवित रहेको पहिलो प्रमाणका रूपमा लिइएको छ। तर, फुटेज पुरानो भएकाले हाल उनको अवस्थाबारे यकिन जानकारी छैन।

इजरायली सञ्चारमाध्यमका अनुसार, उक्त भिडियो पहिले नै प्राप्त भए पनि परिवारको अनुमति पाएपछि मात्रै अहिले सार्वजनिक गरिएको हो। भिडियोमा विपिनले आफूलाई परिचय दिँदै भन्छन्, ‘मेरो नाम विपिन जोशी हो, म नेपालबाट आएको हुँ। मेरो उमेर २३ वर्ष भएको छ। म यहाँ ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म यहाँ आएको २५ दिन भएको छ।’

विपिनकी बहिनी पुष्पा जोशीले द जेरुसेलम पोस्टसँग कुरा गर्दै भनेकी छन्, भिडियो अहिले सार्वजनिक गर्नुको उद्देश्य सम्भावित बन्धक सम्झौता अघि बढाउन मद्दत गर्नु हो।

हाल उनी अमेरिकामा रहेकी छन् र दाइको मुक्तिका लागि अभियान चलाइरहेकी छन्। वाशिङ्टन डीसी र न्युयोर्कमा बसाइ लम्ब्याउँदै, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी विपिनको सुरक्षित रिहाइका लागि आग्रह गर्ने तयारी गरिरहेकी बताएकी छन्।

प्रकाशित : २३ आश्विन २०८२, बिहिबार, ,