काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज यूएईको शारजाह क्रिकेट मैदानमा हुँदैछ। खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेबाट सुरु हुनेछ।
नेपालले टी–२० अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजसँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो। त्यस्तै, आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको पहिलो द्विपक्षीय सिरिज पनि यही हो, जसलाई ऐतिहासिक रूपमा हेरिएको छ।
खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको उल्लेख गर्दै यस शृंखलामा पनि जित निकाल्ने विश्वास व्यक्त गरे। उनले भने, “आफ्नो उत्कृष्ट क्रिकेट खेल्न सक्यौं भने हामी सिरिज जित्न सक्छौं भन्ने आत्मविश्वास छ। टिमको मनोबल उच्च छ।”
उता, वेस्ट इन्डिजका कप्तान अकिल होसेनले नेपालको ऐतिहासिक सिरिजको हिस्सा हुन पाउँदा खुसी लागेको बताए। उनले टिममा युवा खेलाडीहरूको बहुलता रहेको र सबै खेलका लागि तयार रहेको जनाउँदै भने, “पेपरमा को कस्तो छ भन्ने कुराले फरक पार्दैन, राम्रो खेल्ने टिम नै जित्छ।”
वेस्ट इन्डिज हाल कमजोर लयमा रहेको छ। सन् २०२५ मा उसले खेलेका १२ खेलमध्ये केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ। यस्तो अवस्थामा नेपाललाई ऐतिहासिक जित हात पार्ने उत्कृष्ट अवसर रहेको विश्लेषण गरिएको छ।























प्रतिक्रिया