सूचना / प्रविधि

देशको हितका लागि ल्याएको अध्यादेशको विरोध नगरौँ : सञ्चारमन्त्री गुरुङ



काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले देशको हितका लागि ल्याइएको अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले मुलुकमा सुशासन कायम गर्न र अर्थतन्त्रलाई बलियो बनाउन अध्यादेश ल्याइएको भन्दै अध्यादेशको विरोध गर्नु उचित नभएको बताएका हुन् ।

अध्यादेश पास गर्नुको विकल्प नरहेकाले अध्यादेशका पक्षमा साथ दिन उनले आग्रह समेत गरे ।

भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि भूमिसम्बन्धी अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले शासन व्यवस्थाअनुसार कानुन परिवर्तन गर्नुपर्ने भएकाले त्यसले त्यसतर्फ ध्यान केन्द्रित गरेको उल्लेख गरे ।

मन्त्री गुरुङले मुलुक संघीयतामा गएपछि विकास निर्माणका धेरै काम भएको जिकिर गरे ।

उनले मुलुकलाई रूपान्तरण गर्ने नीतिलाई सही बनाउँदै देश र जनताको हितमा अघि बढ्ने बताए ।

लोकतन्त्र खतरामा पर्न लागेको महशुस गरी कांग्रेस र एमालेजस्ता दुई ठूला राजनीतिक दलको गठबन्धनको जरुरी परेको उनले बताए ।

प्रकाशित : ८ फाल्गुन २०८१, बिहिबार, ,