breaking news

माग पूरा नभए ‘कात्तिक १६’ बाट अर्को विद्रोह गर्ने चेतावनी



काठमाडौं । डा. निकोलस भुसालले कात्तिक १६ गतेदेखि अर्को विद्रोह सुरु गर्ने चेतावनी दिँदै सरकारसमक्ष जेनजी समूहका माग पूरा गर्न दबाव लगाएका छन्।

शनिबार आयोजित कार्यक्रममा भुसालले अन्तिम विद्रोहको तयारी पूरा भएको र आवश्यक परे अर्को सरकार गठन गरिने बताएका हुन्।

भुसालले भने, “हामी १६ गतेदेखि अन्तिम विद्रोह, अन्तिम क्रान्ति गर्दैछौँ। यो रहरले होइन, कहरले हुनेछ। अहिलेको प्रधानमन्त्री र गृहमन्त्री — तपाईंहरूले हिम्मत गर्नुहोस्। हामीले जेनजीको रगतबाट तपाईंहरूलाई बनाएका हौं।” उनले माइतीघरमा जेनजीका माग राख्न आएका कार्यकर्तालाई प्रक्राउ गरेर लगिँदा असन्तोष व्यक्त गरे र प्रधानमन्त्री सुशिला कार्कीलाई लक्षित गर्दै जगजाहेर प्रश्न गरे कि उहाँलाई त्यहाँ राख्नुको उद्देश्य के थियो भन्ने।

भुसालले आगामी १३ दिनभित्र सरकार परिवर्तन गरेर नयाँ संविधानको तयारी गरिने दाबी समेत गरेका छन्। उनले विद्रोहपछि बलियो सरकार आए किसानको उत्पादन किन्ने र किसानका समस्याहरू समाधान गर्ने वाचा गरेका हुन्।

भुसालले भने, “देश गरिब छैन – म सम्पूर्ण किसानहरूलाई भन्छु, तपाईंहरूको उत्पादन यो सरकारले किन्नेछ? किन्ने छैन भने म किन्छु भनी वाचा गर्छु। मल चाहिँदो हो भने हामी दिन्छौँ।”

प्रकाशित : ९ कार्तिक २०८२, आइतबार, ,