काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दसैँका अवसरमा मनसुनी वायुसम्बन्धी विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागका अनुसार हाल मनसुन केही कमजोर बने पनि नेपालबाट पूर्ण रूपमा बहिर्गमन भइसकेको छैन ।
साधारणतया नेपालमा मनसुन अक्टोबर २ तारिखतिर समाप्त हुने गर्दछ । तर यो मिति हरेक वर्ष फरक हुने हुँदा यस वर्षको दसैँ अवधिभर पनि मनसुनी वायुको प्रभाव रहने विशेष बुलेटिनमा उल्लेख गरिएको छ ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार असोज १४ (अष्टमी) : बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना ।
असोज १५ (नवमी) : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान ।
असोज १६ (दशमी) : बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्र, साथै कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना ।
दसैँको अवधिभर मनसुनी प्रभाव कायमै रहने भएकाले मौसमको अद्यावधिक सूचना लिएर आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । सूचना अधिकारी कायस्थले विभागबाट जारी हुने पूर्वानुमानलाई समयमै अपडेट गरी दैनिक क्रियाकलापमा ध्यान दिन सबैलाई अनुरोध गरेका छन् ।























प्रतिक्रिया