काठमाडौँ । अब काठमाडौँका १९ वटा सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुनेछ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका संवेदनशील र सार्वजनिक स्थलमा सेवा विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार पुराना वाइफाइ सेवाको मर्मत, गुणस्तर सुधार र क्षमता विस्तारसँगै नयाँ आठ स्थानमा वाइफाइ जडान गरिएको छ। नयाँ बसपार्क, भक्तपुर र कीर्तिपुर अस्पताल, त्रिभुवन विमानस्थललगायत स्थानमा सेवा सञ्चालनमा आइसकेको छ।
नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीको सहकार्यमा निःशुल्क वाइफाइ सेवा विस्तार गरिएको हो। यसअघि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, गङ्गालाल केन्द्रलगायतमा ब्याण्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस र डाटा सीमा १०० एमबीबाट ५०० एमबी पुर्याइएको छ।
सञ्चारमन्त्री खरेलले पदभार ग्रहणसँगै दुई महिनाभित्र काठमाडौँ उपत्यकामा निःशुल्क वाइफाइको पहुँच पुर्याउने प्रतिबद्धता गर्नुभएको थियो। अब मन्त्रालयले उपत्यका बाहिरका दस प्रमुख सहरमा पनि यो सेवा विस्तार गर्ने तयारी गरेको छ।
आज मन्त्री खरेलसहितको टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन विमानस्थलमा वाइफाइ सेवाको अनुगमन गर्ने कार्यक्रम रहेको छ।
























प्रतिक्रिया