चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति नेपालको कडा आपत्ति रहेको स्पष्ट रूपमा प्रकट गरेका छन् ।
शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार थियानजिन आइपुग्नेबित्तिकै प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेट गरेका हुन्।
भेटमा सहभागी परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले नेपालका लागि लिपुलेकको संवेदनशील विषयमा स्पष्ट अडान राख्दै भनेका थिए— “सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फका सम्पूर्ण भूभाग नेपालकै हो। सार्वभौम नेपालको भूमि अरू मुलुकबीचको सहमतिबाट व्यापारिक मार्ग बनाउन नेपाललाई स्वीकार्य छैन।”
प्रधानमन्त्री ओलीको भनाइप्रति राष्ट्रपति सीले आफूलाई कुनै फरक मत नभएको जनाउँदै, यस विषयमा नेपाल–भारतबीचको छलफलबाट समाधान खोजिनुपर्ने धारणा राख्नुभएको सचिव राईले जानकारी दिए ।
भेटवार्तामा दुई देशबीचको मित्रता, आपसी विश्वास र सहकार्य विस्तारबारे पनि चर्चा भएको थियो। दुवै पक्षले सम्बन्ध अझ सुदृढ बनाउन संयन्त्रहरू सक्रिय गर्ने सहमति जनाए। साथै, ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका परियोजनालाई गति दिन, नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित बनाउने, निर्यात प्रवर्द्धनका लागि गुणस्तरीय कृषि उत्पादनमा सहयोग गर्ने जस्ता विषयमा समेत सहमति भएको प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको चीन भ्रमण प्रधानमन्त्रीको हैसियतमा चौथो र यो वर्षमै दोस्रो हो। भ्रमणका क्रममा उनले चीनका उपराष्ट्रपति हान चङ्गलगायत अन्य राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
यस अवसरमा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, मन्त्रीहरू रघुजी पन्त र बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री छविलाल विश्वकर्मा, आर्थिक सल्लाहकार डा. खतिवडा, परराष्ट्र सचिव राई, चीनस्थित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायतको सहभागिता थियो।























प्रतिक्रिया