मुख्य समाचार

रास्वपाले माग्यो राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट खतिवडाको राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुपर्ने ठहर गरेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले खतिवडाको भूमिकाप्रति असन्तोष जनाउँदै उनलाई राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो।

कुलिङ अफ पिरियड प्रकरणमा देखिएको गडबडीप्रति खतिवडाले क्षमा याचना गर्नुका साथै नैतिक जिम्मेवारी स्वीकार गर्दै पदत्याग गर्नु पर्ने रास्वपाको धारणा छ।

संसदीय विशेष समितिले उक्त प्रकरणमा खतिवडालाई नैतिक रूपले दोषी ठहर गरेको छ। समितिको प्रतिवेदनअनुसार, उनले प्रतिवेदन तयार पार्ने प्रक्रियामा पारदर्शिता नअपनाई केही निश्चित व्यक्तिहरुसँग अनौपचारिक बैठक बसेर प्रतिवेदन अगाडि बढाएको, साथै समन्वयकारी भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, “सभापति खतिवडाले कुलिङ अफ पिरियड राख्ने पक्षमा सकारात्मक भूमिका खेलेका छन्। तर, परिमार्जित मस्यौदामा हस्ताक्षर भए पनि समितिका सदस्यहरूसँग समन्वय नगरी प्रतिवेदन पेस गरिएको छ, जुन अनौपचारिक प्रकृयाको परिचायक हो।”

प्रकाशित : २१ श्रावण २०८२, बुधबार, ,