breaking news

विश्वकप लिग–२ : नेपाल आज अमेरिकासँग खेल्दै



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

खेल आइतबार बिहान ११:१५ बजे युएईमा सुरु हुनेछ। केही दिनअघि युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली लिग–२ अन्तर्गतका महत्त्वपूर्ण खेलहरूको तयारीपछि मैदानमा उत्रिन लागेको हो।

रोहित पौडेलको कप्तानीमा नेपालले युएई र अमेरिकाविरुद्धका खेलहरू खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान) ले टोलीमा परिवर्तन गर्दै सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखी भीम सार्की, शाहब आलम र अनिल साहलाई समावेश गरेको छ।

शृङ्खलाका खेलहरू आइतबारदेखि कात्तिक १९ गते (बुधबार) सम्म युएईमा हुनेछन्। नेपालले पहिलो खेलमा अमेरिकासँग भिडेर शृङ्खलाको सुरुवात गर्नेछ भने दोस्रो खेल कात्तिक १३ गते बिहीबार युएईविरुद्ध हुनेछ। तेस्रो खेल कात्तिक १५ गते शनिबार पुनः अमेरिकाविरुद्ध र अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेलिने तालिका रहेको छ।

हालसम्म नेपालले लिग–२ मा १२ खेल खेलेर १६ अंक जोडेको छ। समान खेल खेलेको युएईसँग ६ अंक मात्र छ। अंक तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ भने युएई आठौँ स्थानमा छ। यता, २० खेल पूरा गरेको अमेरिका २८ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित : ९ कार्तिक २०८२, आइतबार, ,