काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थानको सुधार गर्दै ८७औं स्थानमा उक्लन सफल भएको हो। यो नेपाली महिला फुटबल टोलीको अहिलेसम्मकै उच्च वरीयता हो।
यसअघि नेपालले ९१औं स्थानसम्मको रेकर्ड बनाएको थियो। तर यसपटक ४६.४९ अंकको बृद्धिसँगै नेपालले उक्त रेकर्ड तोड्दै ऐतिहासिक उपलब्धि हात पारेको छ। यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा रहेको थियो।
एसियामा १६औं स्थान
एसियाली मुलुकहरूबीच तुलना गर्दा नेपालले १६औं स्थान हासिल गरेको छ। हालै सम्पन्न महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले श्रीलंका र लाओसलाई हराउँदै उज्बेकिस्तानसँग बराबरी खेलेको थियो, जसले नेपालको वरीयतामा उल्लेखनीय सुधार ल्याएको हो।
फिफाको पछिल्लो महिला वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ भने अमेरिकी महिला टोली दोस्रो स्थानमा झरेको छ।
यसैगरी, पुरुष फुटबलतर्फ नेपाल १७५औं स्थानमा कायम रहेको छ।
महिला फुटबलमा देखिएको यो सुधारले नेपाली फुटबलको विकास र अन्तर्राष्ट्रिय उपस्थिति बलियो हुँदै गएको संकेत दिएको छ।























प्रतिक्रिया