समाचार

ग्लोबल आइएमई बैंकको वाकाथन कार्यक्रम सम्पन्न



काठमाडौं,२१ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ‘ग्लोबल आइएमई एआई–एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो ।

यस प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनोट गरिएको थियो । प्रतियोगी टोलीहरू विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, वीरगन्ज, काभ्रे, धरानबाट सहभागी भएका थिए ।

सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप एक लाख रुपैयाँ जित्न सफल भएको छ । साथै, डब्लुडीके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरूले क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ पुरस्कारबाट पुरस्कृत भएका छन् ।

दोस्रो हुने टोली डब्लुडीकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौँ हुने क्रमशः टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेस्ट प्रिजेन्टेसन विधाअन्तर्गत बैंकले डीजीविट्सलाई १५ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ ।

प्रतियोगिताका विजेता टोलीलाई उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुरस्कार रकम हस्तान्तरण गरे ।

नेपालमा पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल)सम्बन्धी ह्याकाथन सञ्चालन गरेकोमा डेपुटी गभर्नर बमबहादुर मिश्रले आयोजक ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिए ।

यस किसिमका प्रतियोगिताले युवा तथा विद्यार्थीलाई अवसर प्रदान गर्नुका साथै बैंकका सेवा तथा सुविधामा नवीनतम प्रविधिको प्रयोग अझ प्रभावकारी भई सेवाको पहुँच विस्तार हुने विश्वास नेपाल राष्ट्र बैंकले लिएको डेपुटी गभर्नर मिश्रले जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतीको समाधानका लागि सहयोग पुग्नुका साथै नवीनतम सेवाको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको जानकारी दिए । यस प्रतियोगिताको उत्कृष्ट टोलीलाई बैंकले सहकार्य गर्ने अवसर प्रदान गर्ने समेत जानकारी दिए ।

प्रकाशित : २१ बैशाख २०८२, आइतबार, ,