समाचार

अरुणिमा–रमेश विकल अन्तर विद्यालय स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न



काठमाडौं, आरुबारी — नव अरुणिमा माध्यमिक विद्यालय, आरुबारीमा शनिबार “अरुणिमा–रमेश विकल अन्तर विद्यालय स्थलगत बाल चित्रकला प्रतियोगिता – २०२५” भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्ण मानन्धर, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष के.के. कर्माचार्य, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुंगाना र कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले प्रतियोगिताको महत्वबारे मन्तव्य राख्दै विद्यार्थीहरूको सिर्जनशीलता उजागर गर्ने अवसरका रूपमा यसलाई अर्थ्याउनुभयो।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई लक्षित प्रतियोगितामा ३१ वटा विद्यालयका ५९ जना विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए। प्रस्तुत चित्रकलाहरूको मूल्याङ्कन ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सचिव रबिन कोइराला र चित्रकलामा स्नातकोत्तर श्याम श्रेष्ठले गर्नुभएको थियो।

प्रतियोगितामा चेल्सी वल्र्ड स्कूलकी आरोशी गुरुङ प्रथम, अरुणिमा मा.विकी श्रीकन्या चाम्लिङ राई द्वितीय, न्यू बुद्ध प्रकाश सेकेन्डरी स्कूलका लामो लोप्चन लामा तृतीय, भने सिजन लामा (टाइमलाइन स्कूल) र प्रशंसा तामाङ (जीवनतारा एकेडेमी)ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कार प्रदान गरिएको थियो।

समारोहको समापन गर्दै सभाध्यक्ष तथा नव अरुणिमा मा.विका अध्यक्ष गोपालप्रसाद बरालले उपस्थित अतिथि, निर्णायक मण्डल, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम औपचारिक रूपमा समाप्त गर्नुभयो ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार, ,