जोमसोम । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप मुस्ताङको थासाङ गाउँपालिकामा रहेका मतदान केन्द्र तथा मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेल, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, जिल्ला सुरक्षा समिति, जिल्ला निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवाली तथा स्थानीय सञ्चारकर्मीको संयुक्त टोलीले थासाङ गाउँपालिकामा रहेका आठ मतदान केन्द्रमध्ये पाँच वटा केन्द्र तथा स्थलको अनुगमन गरेको हो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले मतदान केन्द्रको शान्ति–सुरक्षा अवस्था, भौतिक पूर्वाधार तथा मतदातालाई निर्भीक रूपमा मतदान गर्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि अनुगमन गरिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । उनका अनुसार घाँसा, छयो, लेते, कोवाङ र कोवाङ मतदान केन्द्र तथा स्थलमा प्रत्यक्ष अनुगमन गरिएको हो ।

थासाङ गाउँपालिकामा कालीगण्डकीपारिका सौरु, कुञ्जो र झिप्रा देउरालीलगायत मतदानस्थलको अर्को चरणमा अनुगमन गरिने पनि ज्ञवालीले बताए । उम्मेदवार मनोनयन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह वितरणको प्रक्रिया सकिएसँगै मतदान केन्द्रको अनुगमन सुरु गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
यसअघि जिल्ला सुरक्षा समितिले उपल्लो मुस्ताङका विभिन्न मतदान केन्द्र तथा स्थलको अनुगमन सम्पन्न गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी अजिता शर्माको नेतृत्वमा लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका २८ मतदान केन्द्रमध्ये २५ वटाको स्थलगत अनुगमन सम्पन्न भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डस्थित ताङ्ग्या र ढी तथा बारागुङ मुक्तिक्षेत्रको साङ्ता मतदानस्थलको अनुगमन गर्न बाँकी रहेको छ ।
निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा ३९ मतदान केन्द्रस्थल तोकिएका छन् । यसमध्ये लोमान्थाङ गाउँपालिका–२ को सम्जुङ मतदान केन्द्रलाई दिव्यदीप माध्यमिक विद्यालय छोसेरमा स्थानान्तरण (मर्ज) गरिएको छ । साथै लोघेकर दामोदरकुण्ड–४ मा यसअघि रहेको केन्द्रसँगै थप एक मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
जिल्लामा कुल ११ हजार ३२८ मतदाता रहेका छन् । जसमध्ये घरपझोङ गाउँपालिकामा २ हजार ४९२, थासाङमा २ हजार ९०७, वारागुङ मुक्तिक्षेत्रमा २ हजार ३९, लोघेकर दामोदरकुण्डमा १ हजार ५४२ र लोमान्थाङ गाउँपालिकामा २ हजार ११ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।






















प्रतिक्रिया