काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताएकी छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरूसँग देशको राजनीतिक स्थिति, निर्वाचन तयारी र सरकारका काम–कारबाहीबारे छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण बनाउन अधिकतम प्रयासरत रहेको जानकारी दिइन् ।
प्रधानमन्त्रीले जेनजी तथा राजनीतिक दलहरूसँग निरन्तर संवाद भइरहेको बताउँदै निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको उल्लेख गरिन्। उनले भनिन्, “सबै पक्षलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मेरो मनसाय हो।”
प्रधानमन्त्री कार्कीले सुशासन कायम गर्ने र निष्पक्ष निर्वाचन गराउने सरकारको मुख्य उद्देश्य रहेको दोहोर्याउँदै, “राजनीतिक दललाई निषेध गरेर होइन, उत्साहपूर्वक सहभागी गराएर फागुन २१ को निर्वाचन सम्पन्न गरी सत्ता हस्तान्तरण गरिनेछ,” भनिन् ।
आफूले असहज परिस्थितिमा सरकारको जिम्मेवारी लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आलोचनाबाट नडराउने दृढता व्यक्त गरिन् ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल उपस्थित रहेका थिए ।























प्रतिक्रिया