काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी प्रक्रिया खुकुलो बनाउँदै नयाँ व्यवस्था लागू गरेको छ।
गृहमन्त्रीस्तरीय निर्णयबाट पुराना कडा प्रावधानहरू हटाइएपछि विदेश जान चाहने नेपालीका लागि भिजिट भिसा अब सहज बनेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै नयाँ नियम तत्काल प्रभावबाट लागू भएको जनाएको छ।
नयाँ व्यवस्थाअनुसार, अब भिजिट भिसाका लागि कम्तीमा ६ महिना वैध राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अन(अराइभल’ भिसा प्रणाली हुने मुलुकको हकमा त्यस्तो प्रवेशाज्ञा आवश्यक नपर्नेछ।
साथै, प्रस्थान गन्तव्यसम्मको हवाई टिकट, भ्रमण प्रयोजन स्पष्ट गर्ने कागजात, र यात्राबाट उत्पन्न हुने जिम्मेवारी आफूले नै वहन गर्ने स्वघोषणा गर्नुपर्नेछ।
यसअघि भने भिजिट भिसा लिन न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो। यी सबै प्रावधान अहिलेबाट खारेज गरिएका छन्।
अध्यागमन विभागका अनुसार विगतमा देखिएका अव्यवस्था, अनियमितता र नागरिकको आवतजावतसम्बन्धी अधिकारमा परेको प्रभाव समाधान गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिले संविधानद्वारा प्रदत्त मौलिक हक र स्वतन्त्र आवागमन सुनिश्चित गर्न सुझाव दिएको थियो।
सोही सिफारिसका आधारमा १० माघ २०८० देखि लागू ६ बुँदे मापदण्ड र त्यससँग सम्बन्धित सबै पुराना प्रावधानहरू खारेज गरिएको विभागले जनाएको छ।
विभागले कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो यात्राको उद्देश्य र गन्तव्यबारे स्पष्ट जानकारी राख्दै आत्मविश्वासका साथ विदेश जान नागरिकलाई आग्रह गरेको छ।























प्रतिक्रिया