breaking news

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै



काठमाडौं  । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन् ।

गृह मन्त्रालयका अनुसार बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ । गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त समिति गठन गरिएको हो ।

गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गरेका हुन् । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवका रूपमा छन् ।

समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ । जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिनेछ ।

आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ । सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको छ ।

प्रकाशित : २ कार्तिक २०८२, आइतबार, ,