काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा–सुविधा नलिने घोषणा गरेपछि यसले प्रशंसा र आलोचना दुवै खिचेको छ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यसलाई ‘जनतामा भ्रम छर्ने अभिव्यक्ति’ भनेर व्याख्या गरेका छन्।
सोमबार कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा सहभागी भएका विप्लवले भने, “तलब नलिने भन्यो, अब के खान्छ ? माटो खान्छ ? यसको मतलब त उसले पहिले नै अकुत सम्पत्ति कमाएको छ भन्ने हो।”
उनले मन्त्रीहरुको यस्तो घोषणा जनतालाई भुलभुलैयामा पार्ने र व्यक्तिगत स्वार्थ सिद्ध गर्ने शैली भएको टिप्पणी गरे। “जनतालाई भ्रम छरेर होइन, परिवर्तन ल्याउने काम गर्नुपर्छ,” विप्लवले भने। साथै, उनले नेताहरु श्रम र उत्पादनसँग नजोडिएको र विदेशी शक्तिको प्रभावमा सजिलै पैसा खोज्ने प्रवृत्तिप्रति असन्तुष्टि पनि जनाए।
त्यसैगरी, उनले प्रधानमन्त्री सुशीला कार्की र उनकी मन्त्रिपरिषद्लाई ‘राम्रो काम’ गर्न शुभकामना दिए। तर आफूलाई शुद्ध देखाउन अरुलाई दोष थोपर्ने राजनीति नगर्न आग्रह गर्दै विप्लवले सोमबार बेलुकी सार्वजनिक गरेको भिडियो सन्देशमा भने, “विद्रोह जेन–जीको, तर सरकार जेन–एक्सको” भनेर सरकारको बनोटप्रति असहमति प्रकट गरेका थिए।
कपिलवस्तुमा आयोजित कार्यक्रममा विप्लवले सशस्त्र युद्धमा दुई छोरालाई गुमाएकी देवीमाया विकलाई नेकपा कपिलवस्तुको तर्फबाट तीनकोठे घर हस्तान्तरण गरे। घर बुझाउँदै उनले शहीदका सपनालाई अन्तिमसम्म बोकेर देशको भविष्य निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।























प्रतिक्रिया