भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याएर भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको औपचारिक सुरुआत गरिएको बताइएको छ। अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा रमाउने भएको छ।
परम्पराअनुसार काठबाट बनेको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले तानातान गर्दै लैजाने गरिन्छ। भैलखः तान्नु अघि त्यसमा खड्ग, तरवार र निशान राख्ने चलन रहेको छ। पहिलो दिन पाँचतल्ले मन्दिर प्राङ्गणबाट सुरु भएको रथ तानातान दत्तात्रयसम्म पु¥याएर पुनः फर्काई गःहिटीमा राखेर दिनको जात्रा सम्पन्न गरिने जनाइएको छ।
जात्राको दोस्रो दिन शून्य दिनका रूपमा मानिन्छ भने तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानमार्फत सरकारी पूजा गरिने परम्परा रहेको छ। उक्त प्रसाद स्थानीयलाई ‘स्याःक्वःत्याःक्वः’ का रूपमा वितरण गरिने बताइएको छ।
चौथो दिन कुमाले टोलमा ल्हामरु म्ह यसींद्यो (हात नभएको लिङ्गो) उभ्याउने र साँझ भेलुखेलस्थित ल्यसिङखेलमा ५५ हात लामो यसींद्योः ठड्याइने जनाइएको छ। यसलाई पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक मानिन्छ। यसींद्योःमा झुण्ड्याइने वीरध्वजा र विश्वध्वजालाई विशेष महत्व दिइन्छ।
नयाँ वर्ष वैशाख १ गते पाँचौँ दिनका रूपमा विशेष उत्साहका साथ मनाइन्छ। सो दिन भक्तजनले भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजन गर्ने तथा साँझ यसींद्योः ढालेर भैलखः र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइने बताइएको छ।
त्यसपछिका दिनहरूमा क्रमशः महाकाली–महालक्ष्मी, ब्रह्मायणी–महेश्वरी, बटुकभैरव, ज्याठा गणेशलगायतका विभिन्न देवीदेवताका जात्रा मनाइनेछन्। आठौँ दिन ‘सगुन जात्रा’ तथा अन्तिम दिन पुनः भैलखः तानातान गरी जात्रा सम्पन्न गरिने परम्परा रहेको छ।
संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बिस्का जात्राको ऐतिहासिक नाम ‘विश्व जात्रा’ रहेको उल्लेख गर्दै यसलाई भैरवनाथ र भद्रकालीसँग सम्बन्धित महत्त्वपूर्ण पर्व भएको बताएका छन्। उनले प्रचलित नाग–नागिनीसम्बन्धी किंवदन्ती भ्रमपूर्ण रहेको दाबी गरेका छन्।
यस वर्ष जात्रालाई व्यवस्थित र सुरक्षित बनाउन दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्रै रथ तान्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन्। सम्भावित झडप तथा दुर्घटना रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा गरी करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन्।
साथै, रथमा सीमित व्यक्तिलाई मात्र चढ्न अनुमति दिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था गर्ने तथा चोक–चोकमा सिसी क्यामेरा जडान गरी हुलदङ्गा नियन्त्रण गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ।























प्रतिक्रिया