breaking news

समानुपातिक सूची विवादलगायत विषयमा छलफल :रास्वपाको केन्द्रीय समिति बैठक आज



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौँमा आह्वान गरिएको बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरणलगायतका विषयमा सभापति रवि लामिछानेले ब्रिफिङ गर्ने बताइएको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार पार्टी समायोजन, विस्तार एवम् संगठन सुदृढीकरणसँग सम्बन्धित विषयसहित समसामयिक राजनीतिक एजेन्डामा छलफल गरी पार्टीको औपचारिक धारणा तय गर्नुपर्ने भएकाले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

यसैबीच, रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा देखिएका त्रुटिहरू आयोगले तोकेको समयसीमाभित्र सुधार गर्ने निर्णय गरेको छ। पार्टीले बन्दसूचीप्रति विभिन्न सरोकारवाला तथा आम नागरिकबाट प्राप्त प्रतिक्रिया र सुझावलाई गम्भीर रूपमा लिएको जनाएको छ।

पार्टी सचिवालयद्वारा जारी सूचनामा समय अभावका कारण अन्तिम समयमा गर्नुपरेका राजनीतिक संवाद र सहमतिका क्रममा बन्दसूची तयार गर्दा केही कमीकमजोरी देखिन गएको हुनसक्ने उल्लेख गरिएको छ। प्राप्त सुझावहरू प्रदेश सभापतिमार्फत वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने पनि जनाइएको छ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीलाई लिएर पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

 

प्रकाशित : २० पुस २०८२, आइतबार, ,