काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउन अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टी सदस्यका घरघरमा पत्र पठाउन थालेको छ।
बागमती प्रदेश इञ्चार्ज तथा महाधिवेशन जनपरिचालन कमिटीका सचिव राजन भट्टराईका अनुसार लोकतन्त्रका पक्षधर शक्तिलाई एकजुट बनाउने सन्देशसहित अध्यक्ष ओलीको पत्र छापेर वितरण थालिएको हो।
अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आउन सक्ने सम्भावित जोखिमविरुद्ध जनशक्तिको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै महाधिवेशनलाई शक्तिशाली जनसमर्थन प्रदर्शनको अवसरका रूपमा लिन आग्रह गरेका छन्। उनीहरूले एमालेलाई राष्ट्रियता र स्वाभिमानको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्यायको अग्रदूत, सुशासन र विकासको नायक तथा समृद्ध नेपाल–सुखी नेपालीको यात्रामा अगुवाइ गर्ने शक्तिका रूपमा प्रस्तुत गरेका छन्।
वर्तमान राजनीतिक अवस्थालाई ‘गम्भीर चुनौतीको समय’ भन्दै अध्यक्ष ओलीले सबै पक्ष एकताबद्ध भई अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ गते दिउँसो १२:३० बजे भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ। उद्घाटन सत्रलाई भव्य बनाउन बागमती, गण्डकी र मधेश प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई विशेष रूपमा सहभागी गराउने तयारी गरिएको सचिव डा. भट्टराईले जानकारी दिएका छन्।























प्रतिक्रिया