breaking news

राष्ट्रिय सभाको बैठक आज अपराह्न ३ः१५ बजे बस्दै,



काठमाडौँ  । राष्ट्रिय सभाको बैठक आज अपराह्न ३ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।

बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको जानकारी दिने कार्यसूची छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्। साथै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधि सभाबाट आएको सन्देश टेबुल गर्नेछन्।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यससँगै आजै दुई संसदीय समितिको बैठक पनि बस्नेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धी सैद्धान्तिक पक्षबारे सरोकारवालासँग छलफल हुने कार्यक्रम छ।

विधायन व्यवस्थापन समितिको बैठक भने बिहान ११ः३० बजे बस्नेछ, जसमा ‘संघीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ माथि छलफल हुने बताइएको छ।

प्रकाशित : १६ भाद्र २०८२, सोमबार, ,