समाचार

विद्या भण्डारीलाई राजनीतिबाट रोक्ने प्रयास अस्वाभाविक : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयासलाई अस्वाभाविक बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू पुनः राजनीतिमा सक्रिय हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराउँदै, उनीहरूको पुनरागमनलाई अनुचित ठहर गर्न नहुने बताए । उनले पूर्वराष्ट्रपति राजनीतिको मैदानमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुने स्पष्ट पारे ।

प्रचण्डले वर्तमान संविधानलाई सर्वोत्कृष्ट माने पनि त्यसअनुसारका कानुनहरू नबनाइएकै कारण कार्यान्वयनमा समस्या देखिएको टिप्पणी गरे । पार्टी आन्तरिक विषयमा बोल्दै उनले पार्टी निर्णय र विधि–पद्धतिको विरोधमा हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताए ।

जनार्दन शर्मा ‘प्रभाकर’ ले नेतृत्वप्रति अविश्वास देखाएको सन्दर्भमा उनले, “नपत्याउँदैमा आन्दोलन रोकिन्न” भन्दै पार्टीको अडान स्पष्ट पारे ।

सिमानासम्बन्धी प्रश्नमा प्रचण्डले कालापानी–लिपुलेकलगायतका विवाद छिमेकी मुलुकहरूसँग वार्ता र संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : १२ भाद्र २०८२, बिहिबार, ,