हेलम्बु गाउँपालिका–६ मा एचआइभी/एड्ससम्बन्धी लान्छना तथा भेदभाव कम गर्न जनप्रतिनिधि , सरोकारवाला निकाय, प्रहरी, पत्रकार, एचआईभी संक्रमित तथा मुख्य जोखिम समुहहरुमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना, हेलम्बु गाउँपालिका तथा लाइफ भर्सेस एडिक्सनको समन्वय /सहकार्यमा आयोजित कार्यक्रम आयोजना गरिएको हो । हेलम्बु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकेश भट्टराईले एचआइभी/एड्सबारे समाजमा रहेको गलत धारणा, लान्छना तथा भेदभाव न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो। उहाँले एचआइभी संक्रमित व्यक्तिहरूलाई सम्मानजनक व्यवहार गर्नु र उनीहरूको अधिकार सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, इचोक आधारभुत स्वास्थ्य चौकीका प्रमुख बिदुर जोतिले एचआइभी संक्रमणको अवस्था, जोखिम समूह, रोकथामका उपाय तथा उपचार सम्बन्धी विषयमा प्रस्तुति राख्नुभएको थियो। उहाँले समयमै परीक्षण र उपचारमा पहुँच बढाउन सके एचआइभी संक्रमण कम गर्न सम्भव रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष सन्चबहादुर तामाङले एचआइभी/एड्सप्रति समाजमा अझै पनि विभेदपूर्ण सोच विद्यमान रहेको बताउँदै यस्ता अभिमुखीकरण कार्यक्रमले चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय तहले समेत जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै एचआइभी संक्रमित व्यक्तिहरूलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अब एचआईभी संक्रमित हरुले औषधि लिनको लागी चौतारा पुग्नु पर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो । उहाँले सिन्धुपाल्चोकको इचोक एचआईभी संक्रमितको हिसाबले उच्च रहेकाले एउटा समुह बनाएर संगठित रुपमा लाग्न सुझाव दिनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखा,जनस्वास्थ्य कार्यालय,संघ संस्था संग समन्वय गर्दै सिप मुलक तालिम,आर्थिक उपार्जनका लागि वडा सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी,पत्रकार,शिक्षक,स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले एचआइभी/एड्ससम्बन्धी लान्छना र भेदभाव हटाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।






















प्रतिक्रिया