काठमाडौं ,कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्वीकृत कार्यक्रमअन्तर्गत कोटेश्वर बहुमुखी क्याम्पससँगको सहकार्यमा प्रकाशन हुन लागेको कागेश्वरी मनोहरा जर्नल (भाग १) का लागि अनुसन्धानमूलक लेख आह्वान गरेको छ।
नगरपालिकाको अनुसन्धान तथा विकास शाखाका अनुसार बहुविषयक तथा विज्ञ–समीक्षित जर्नलका लागि लेख/शोधपत्र माग गरिएको हो। जर्नलका लागि पठाइने लेखहरू कागेश्वरी मनोहरा क्षेत्रभित्रका आर्थिक, सामाजिक तथा वातावरणीय विषयसँग सम्बन्धित हुनुपर्ने जनाइएको छ। लेख नेपाली वा अङ्ग्रेजी भाषामा पेश गर्न सकिनेछ भने अनुसन्धान नैतिकता र तोकिएका मापदण्डअनुसार तयार गरिएको हुनुपर्नेछ।
नगरपालिकाका अनुसार जर्नल प्रकाशनको मुख्य उद्देश्य स्थानीय तहमा अनुसन्धान संस्कृति विकास गर्नु, स्थानीय समस्या पहिचान तथा समाधानमा सहयोग पुर्याउनु, ज्ञान आदान–प्रदान प्रवर्द्धन गर्नु तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्नु रहेको छ।
यसै सन्दर्भमा नगरपालिकाको सभाहलमा बुधबार अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा समयसीमाभित्र गुणस्तरीय लेख पेश गर्न, आवश्यक संशोधन गर्न तथा अन्य अनुसन्धानकर्तासम्म सूचना प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो।
जर्नल प्रकाशनका लागि नगरपालिका र कोटेश्वर बहुमुखी क्याम्पसबिच समझदारीपत्र (MoU) मा हस्ताक्षर भइसकेको छ। हस्ताक्षरका क्रममा क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल र नगरप्रमुख उपेन्द्र कार्कीको उपस्थिति रहेको थियो।
जर्नल प्रकाशनलाई व्यवस्थित बनाउन क्याम्पसका सहायक प्रमुख मनोज अधिकारीको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। सहमतिअनुसार जर्नलमा कम्तीमा १० वटा अनुसन्धानमूलक लेख समावेश गरिने जनाइएको छ।


























प्रतिक्रिया