काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ मा सुरु भएको मजदुर आन्दोलनको स्मरणमा आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदै छ।
दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता, श्रमिक तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशभर विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।
इतिहासअनुसार फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न श्रमिक सम्मेलनको निर्णयअनुसार सन् १८९० देखि प्रत्येक वर्ष मे १ मा यो दिवस मनाउन थालिएको हो। श्रमिकहरूले यस दिनलाई आफ्नो अधिकार सुनिश्चितताका लागि आवाज उठाउने अवसरका रूपमा लिँदै विभिन्न कार्यक्रम गर्ने गरेका छन्।
नेपालमा भने विसं २००७ मा भएको विराटनगर मजदुर आन्दोलनपछि श्रमिक दिवस मनाउन सुरु भएको इतिहास छ। विसं २०४६ को राजनीतिक परिवर्तनपछि सरकारले यस दिन सार्वजनिक बिदा दिन थालेको हो।
सरकारी कार्यक्रमहरूमा श्रमिकको वर्तमान अवस्था, न्यूनतम ज्याला, श्रम कानुन कार्यान्वयन, अनौपचारिक क्षेत्रका श्रमिकलाई औपचारिक दायरामा ल्याउने रणनीति, रोजगारी सिर्जना तथा युवा लक्षित योजनाबारे छलफल गरिने जनाइएको छ।
मन्त्रालयका सहसचिव प्रेमप्रसाद आचार्यले श्रम कानुन कार्यान्वयन र श्रमिक अधिकार संरक्षणमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको बताए। उनका अनुसार श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ कार्यान्वयनमा जोड दिइँदै आएको छ भने आवश्यक संशोधनका काम पनि अघि बढिरहेका छन्।
सरकारले हाल न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरेको छ र प्रत्येक दुई वर्षमा यसको पुनरावलोकन गर्ने व्यवस्था रहेको छ। साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममार्फत करिब २९ लाख श्रमिक समेटिएको जनाइएको छ।
नेपाल विश्व श्रम बजारमा धेरै श्रमिक पठाउने मुलुकमध्ये एक हो र देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट आउने विप्रेषणको महत्वपूर्ण योगदान रहेको छ। सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा स्वदेशमै रोजगारी सिर्जना गर्न विभिन्न कार्यक्रम अघि बढाएको जनाएको छ।


























प्रतिक्रिया