विविध

किसानले मूल्य पाउनै छोडे’उत्पादन बढी हुँदा तरकारी सस्तोमा बिक्री



काठमाडौँ, असार। पछिल्लो समय उत्पादन बढी हुँदा तरकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।

अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न नसक्ने अवस्था आएको बताउनुभयो ।

उहाँका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएकाे छ । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रिने गरेको छ ।

खेतबारीको तरकारी सकिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना  छ । लौका १५–२० रुपियाँ, करेला २०–२५ रुपियाँ, बोडी १५–२० रुपियाँमा बेच्नुपरेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई ।

तरकारी व्यापारी चेतबहादुर थिङले भन्नुभयो, ‘‘धान रोप्ने खेतमा अहिले तरकारी रोपाइँ धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डियातिरको तरकारी छैन । धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यति छैन । उत्पादन बढी भएरै तरकारी सस्तो भएको हो ।’’

व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठुलोमात्रामा घाटा लागिरहेको उनीहरुको भनाइ छ ।

प्रकाशित : ३ असार २०८२, मंगलबार, ,