समाचार

मुलुकको सम्पूर्ण संरचनामा हेरफेरको आवश्यकता छ : पूर्बराजा ज्ञानेन्द्र



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको सम्पूर्ण संरचनामा हेरफेरको आवश्यकता औँल्याउँनु भएको छ।

नयाँ वर्ष २०८२ को अवसरमा आईतवार भिडियो सन्देश जारी गर्दै पूर्बराजा शाहले सो कुरा बताउनुभएको हो।जनभावना र चाहना बुझी मुलुकको सम्पूर्ण संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने बताउंदै वहाँले शिक्षा, स्वास्थ्य, दैनिक कामकाजका प्रणालीमा आमूल सुधार र आधुनिकीकरण अनिवार्य भएको उल्लेख गर्नुभएको छ। सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्ने वहाँको भनाई छ।

युवाश्रमलाई देशमा नै राख्ने र आयआर्जन गर्ने वातावरण तयार गर्नुपर्ने पहिलो आवश्यकता रहेको भन्दै पूर्वराजाले भन्नुभएको छ, “स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आजको आवश्यकता हो।वहाँले नागरिक पलायनसँगै पुँजी पलायन भएको पनि बताउनुभयो । भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने गरी झाँगिएको पूर्बराजाको भनाई छ ।

“मुलुकको गिर्दो अर्थव्यवस्था,रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा र असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो,” शाहले भन्नुभएको छ,“हामी अस्थिरता,अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता हुनेछ,”

जनस्तरमा बढेको निराशा र असन्तुष्टि चिन्ताको विषय बनेको बताउँदै वहाँले आउँदो वर्ष सुनौलो र सम्झनयोग्य बन्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।

नागरिक स्वतन्त्रता भन्दा अर्को वाद नरहेको भन्दै पूर्बराजा शाहले नेपाली–नेपालीबीच हिंसाको मनस्थिति नबनोस, कुनै पनि निहुँमा ध्रुवीकृत नहोस् भन्नेमा सचेत रहेको बताउनुभएको छ

प्रकाशित : ३१ चैत्र २०८१, आइतबार, ,