समाचार

दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न १२ दिनको म्याद



काठमाडौं,२९ चैत । तीनकुने घटनाका मुख्य आरोपी राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिनुका साथै उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका हुन्।

प्रहरीले झापाको बिर्तामोडबाट शुक्रबार उनी पक्राउ परेको जनाएको छ । प्रहरीले उनलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएको हो ।

गत चैत १५ मा तीनकुनेमा उनी संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा तीनकुनेमा प्रदर्शन आयोजना गरिएको थियो, जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षति हुन पुगेको थियो ।

प्रकाशित : २९ चैत्र २०८१, शुक्रबार, ,