समाचार

गभर्नरको ‘बहिर्गमन’ पछि पनि शेयर बजार राताम्य



काठमाडौं– सोमबार शेयर बजार राताम्य भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षीय कार्यकाल सकाएर घर फर्किएका छन् ।

गभर्नर अधिकारी घर गएपछिको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४५ अंकले घटेको छ । सरकारले गभर्नर नियुक्त गर्ने भन्ने चर्चाबीच सोमबार नेप्से १.२० प्रतिशतले घटेर २६७०.९४ विन्दुमा पुगेको हो ।

आज बजार राताम्य हुँदा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

आज दिनभरमा २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार ७१२ पटक शेयर किनबेच भएको छ ।

आज १३ वटा समूहमध्ये सबै समूह राताम्य भएको छ । आज बसैभन्दा बढी ट्रेडिङ समूह ३.३० प्रतिशतले घटेर ४६३७.९३ विन्दुमा आएको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घटेर १९.१९ विन्दुमा आएको छ ।

प्रकाशित : २५ चैत्र २०८१, सोमबार, ,