काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।

तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।
काठमाडौं वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कक्षपतिले तीन महिनादेखि कर्मचारीले तलब खान नपाएर समस्यामा परेकाले प्रमुख प्रशाकीय अधिकृतलाई हाजिर गराउने पक्षमा आफूहरू रहेको बताएका छन् ।
अहिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन महानगरका प्रवक्तामेत रहेका वडाअध्यक्ष नवीन मानन्धर, अर्का वडाअध्यक्ष कक्षपति र काठमाडौं २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनसहितका जनप्रतिनिधि कमलादीस्थित कार्यालयमा पुगिसकेका छन ।
जम्मा भएका वडाअध्यक्षहरूले महानगर जनप्रतिनिधिमातहत हुनुपर्नेमा नगर प्रहरीले चलाएको भन्दै आक्रोश पोखिएको छ। उता बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चढ्ने गाडीमै पनि नगर प्रहरी लगाएर ह्वील लक गराइदिएका छन्।
प्रतिक्रिया