काठमाडौं,१३ चैत । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमलाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। उनलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिइएको हो।

गौतम नेकपा एकीकृत समाजवादीका नेता समेत हुन्। उनी गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिल्ला समन्वय समिति (जिसस) प्रमुख बनेका थिए।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा विभिन्न व्यक्तिसँगको आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक बाउन्स भएपछि उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो। प्रहरी वृत्त नयाँ बानेश्वरले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरेको छ।
गौतमले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखामा रहेको खाताबाट रकम भुक्तानी गर्नुपर्ने व्यक्तिहरुलाई चेक काटेका थिए। तर, उक्त चेकहरू बाउन्स भएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो।
उनले जारी गरेका तीन चेकमध्ये सबै पक्षहरूसँग मिलापत्र भएको उनले प्रहरीसमक्ष दाबी गरेका छन्, तर त्यससम्बन्धी आधिकारिक अभिलेख प्रस्तुत गर्न नसकेको प्रहरी स्रोतले जनाएको छ।
यस्तै, काभ्रेमा समेत तीन वटा चेक बाउन्स भई उनीविरुद्ध अर्को मुद्दा दायर भएको छ। बैंकिङ कारोबारमा अनियमितता गरेको आरोपमा उनलाई कालोसूचीमा राखिएको छ। बैंकमा खाता खोल्न नमिलेपछि उनले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट कारोबार गर्दै आएका थिए। सोही खातामा जिल्ला समन्वय प्रमुखको तलब तथा सुविधा जम्मा हुने गरेको थियो। हाल उक्त खाता पनि कालोसूचीमा परेर रोक्का गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया