समाचार

आजबाट एसइई परीक्षा सुरु



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसवर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी एसइईमा सहभागी भएका छन् । यो संख्या गत वर्षको भन्दा ४९ हजार दुई सय ८६ ले बढी हो । गत वर्ष एसईईमा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए ।

यसवर्षको एसईई परीक्षाका लागि बोर्डले देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । यी केन्द्रहरूमा विद्यार्थी संख्याको आधारमा परीक्षा सञ्चालनको व्यवस्था मिलाइएको पौडेलले बताए । १५० जनाभन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा अनिवार्य रूपमा सहायक केन्द्राध्यक्ष तोकिएको छ भने प्रत्येक २० जना परीक्षार्थीलाई एकजना निरीक्षक खटाइएको छ । विद्यार्थी संख्या ७५ जनाभन्दा कम भएका केन्द्रहरूमा भने सहायक केन्द्राध्यक्ष नरहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थी संख्यामा उल्लेखनीय वृद्धि देखिएको यस वर्षको परीक्षा व्यवस्थापन, निष्पक्षता तथा सुरक्षा संयन्त्र थप प्रभावकारी बनाउने योजना बोर्डले अघि सारेको छ । यस पटकको एसईईमा केही विशेष केन्द्रहरू निर्धारण गरिएको छ, जसले परीक्षाको पहुँचलाई समावेशी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ । काठमाडौं र दैलेखका कारागार तथा भक्तपुरको बालसुधार गृहमा पनि परीक्षा केन्द्र तोकिएको छ, जहाँ विद्यार्थीहरूले आफ्नो परीक्षामा सहभागी हुन सक्नेछन् । file foto

प्रकाशित : ७ चैत्र २०८१, बिहिबार, ,