समाचार

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले लाए दर्ज्यानी चिन्ह,



काठमाडौं।नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले कार्यभार सम्हालेका छन् । थापाले मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच दज्र्यानी चिन्ह लगाएर कार्यभार सम्हालेका हुन् ।

थापालाई गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।कार्यक्रममा

गृहसचिव दुवाडीले प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति,सुरक्षा,सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्ति महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुकप्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा,कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गरेका थिए । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरूप्रति कुनै पनि पूर्वाग्रहको भावना नराखी निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपालको संविधानको मर्म अनुरूप संघीय स्वरुपमार्फत कानून कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक,सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भने, ‘कार्यक्षमताको उचित मुल्याङ्कन,नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता,तत्काल सजाय र पुरस्कारमार्फत नैकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्ने मेरो लक्ष्यबाट म किंचित पनि डगमगिने छैन।’ अपराधको रोकथाम र अनुसन्धान,कुनै पनि बहाना र बिकल्प बिना शान्ति सुरक्षाको उपलब्धता,अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय र सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिने समेत उनले बताए।

प्रकाशित : ५ चैत्र २०८१, मंगलबार, ,