समाचार

प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त



काठमाडौं। नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आईजी)मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नियुक्त भएका छन्। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।

एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख थापालाई आईजीमा गरिएको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।

थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ ।

आईजीपी कुँवरसहित ५ एआईजी र ३ डीआईजी सोमबारदेखि अवकाश पाएका छन् । प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त भएका हुन् ।

आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाश पाएका हुन् । उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि सोमबारदेखि अवकाशमा गएका हुन् ।

प्रकाशित : ४ चैत्र २०८१, सोमबार, ,