सिराहा । ‘बुरा नमानो होली हैं जोगिरा सररर…’ जस्ता सुमधुर होलीका गीतहरू अहिले सिराहा लगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन् ।

श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगिरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्ष साता अगाडिदेखि मात्र रौनक सुरु भएको हो ।
मधेसका जिल्लाहरूमा होली पर्व आज मनाइँदै गर्दा पहाडका जिल्लाहरूमा भने बिहीबार नै मनाइयो । यद्यपि यस वर्ष मधेसका केही जिल्लाहरूमा तेस्रो दिन पनि मनाइँदै छ । मिथिला पञ्चाङ्ग अनुसार होली पर्व भोली अर्थात् शनिवार पनि रहेको उल्लेख छ । असत्य माथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरू सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन् ।
होली आउना साथै तराई भेगमा युवादेखि बुढापाकासम्म होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाब होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफू भन्दा ठुलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रङ्ग लगाएर सद्भाव देखाउने चलन रहेको छ ।
प्रतिक्रिया