राजनीति

देशभित्रै रोजगारीका अवसर सुरू गर्दैछौं : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्न निजी क्षेत्रको असाधारण महत्व रहेको बताएका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने बताए ।

उनले भने, ‘विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सृजना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ ।

उनले विश्व बजारमा प्रतिस्पर्धी हुन सक्ने दक्ष जनशक्ति र धेरैभन्दा धेरै रोजगारी स्वदेशभित्रै सृजना गर्न लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले बैङ्कहरू खराब साहूजस्तो हुन नहुने बताए। उनले भने, ‘भन्दाखेरी खराब ऋणी भन्ने, तर साहू खराब हुन्छ । अप्ठ्यारो परेको बेलामा घाँटी निचोर्न खोज्छन्, ऊ डुब्दैछ भने उसलाई उतार्नुपर्छ । कोही पनि आफ्नो सम्पत्ति डुबाउन चाहँदैन ।

कार्यक्रममा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एकीकृत श्रम बजार सूचना प्रणाली विस्तारका लागि श्रम तथा रोजगार मन्त्रालय र स्वीस एजेन्सीबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

प्रकाशित : २७ फाल्गुन २०८१, मंगलबार, ,