काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रयागराज जाने भएका छन्।

महाकुम्भको अवसर पारेर इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलिटी’ कार्यक्रममा वक्ताको रूपमा प्रयागराज जान लागेको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
कुम्भ मेला आगामी महाशिवरात्रिका दिन समापन हुने कार्यक्रम छ।आगामी शुक्रबार र शनिबार आयोजना हुन गइरहेको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन्।
‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा देउवालाई नेपालका पूर्वप्रधानमन्त्रीको हैसियतमा वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।यस वर्ष १४४ वर्षमा आयोजना भएको यस मेलालाई महाकुम्भ भनिएको छ।
कार्यक्रममा भुटानका विदेशमन्त्री, गुयानकी फस्ट लेडी, मलेसियाका मन्त्री, मौरिसका मन्त्रीलगायतका विदेशी पाहुना पनि सहभागी हुनेछन् । देउवाले भारतमा रहँदा राजनीतिक भेटघाट गर्ने वा नगर्ने विषयमा केही खुलाइएको छैन।
प्रतिक्रिया