एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा
![image image](https://www.urjashil.com/wp-content/uploads/2023/09/FB_IMG_1694663497293.jpg)
काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज बिहीबार शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुँदैछ।
![](https://www.urjashil.com/wp-content/uploads/2024/10/agricultrue-Devlopment-bank-adds-final-2-1.gif)
उनको शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अपर्णका लागि बिहान ११ बजे निजी सवारीसाधन हुने शङ्खपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न एमालेले अनुरोध गरेको छ।
उनको निजी निवास बालुवाटार–शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म शबयात्रा गरिने छ ।
परिवारजनका अनुसार नेम्वाङकाे अन्त्येष्टि लिम्बू संस्कार अनुसार गर्न लागिएकाे छ । दिवंगत नेम्वाङका भाइ आनन्द नेम्वाङका अनुसार लिम्बू परम्परामा अन्तिम संस्कार दुई किसिमले हुन्छ । कसैले शव जमिनमा गाडेर त कसैले घाटमा जलाएर अन्तिम संस्कार गर्ने चलन रहेकाे उनले बताए ।
नेम्वाङकाे हकमा भने शव जलाएर अन्त्येष्टि गरिने उनले बताए । ‘हाम्राे (लिम्बूहरूकाे) आफ्नै धार्मिक प्रक्रिया हुन्छ ।फेदाङ्बा (पुरोहित)ले विधिअनुसार अन्तिम संस्कार गराउने चलन छ । कसैले जमिनमा गाड्ने गर्दछन् भने केही समुदायले जलाउने गर्छ । हाम्राे हकमा जलाउने निर्णय गरेका छाैँ । बागमती नदी (पशुपति आर्यघाट)मा लगेर जलाउने कार्यक्रम राखेका छौँ’, उनले भने, ‘सरकारले राजकीय सम्मान दिने भनेकाे छ । त्यसमा पनि हामी सहभागी हुन्छाैँ ।’
अन्तिम संस्कारपछि महिलाको हकमा तीन दिनमा र पुरुषका हकमा चार दिनमै चोखिने चलन भए पनि ४५ दिनमा चाेखिने चलन पनि रहेकाे उनले बताए । ‘कति दिनमा चाेखिने कार्यक्रम राख्ने भनेर सल्लाह गरिरहेका छाैँ’, आनन्दले भने ।
बुबाकाे अन्तिम संस्कारमा सहभागी हुन नेम्वाङका दुई छाेरा विदेशबाट हिजै काठमाडाैं आइसकेका छन् । छाेराहरू आउन समय लागेका कारण निधन भएकाे दुई दिनपछि अन्तिम संस्कार गरिन लागेकाे हाे ।उनको अन्त्येष्टिको दिन आज सरकारले मुलुकभर शोक बिदा दिएको छ।
वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३