काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेबाट सुरू हुने जनाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सभा समक्ष पेस गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन विधेयक, २०८१” सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै सरकारले हालै जारी गरेका अध्यादेशहरू पनि निर्णयार्थ प्रस्तुत हुने भएको छ । जसअनुसार “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, “निजीकरण (पहिलो संशोधन) अध्यादेश, “आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।
अध्यादेश प्रस्तुत गरिने भएपछि सत्ता र प्रतिपक्षी दलहरूले आ-आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गरेका छन्।सत्तापक्ष जसरी पनि अध्यादेश पारित गराउने र प्रतिपक्षी फेल गराउने रणनीतिमा छन्।तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारले हालै जारी गरेको अध्यादेशको पक्ष वा विपक्षमा कता मतदान गर्ने भन्ने बारेमा आज निर्णय लिंदैछ । अध्यादेश प्रतिनिधिसभाबाट पारित हुन सक्ने भएता पनि राष्ट्रिय सभामा भने जसपा नेपाल बिना नसकिने भएपछि उसले बार्गेनिङ बढाइरहेको बेला आज निर्णय लिन लागेको हो ।
प्रतिक्रिया