अन्तरराष्ट्रिय

जापानले साना तथा मध्यम व्यवसायलाई १५ अर्ब ५० करोड डलर राहत प्रदान गर्ने



विश्व । जापान सरकारले अमेरिकाले लगाएको आयात करको असरबाट जोगाउन साना तथा मध्यम व्यवसायहरूलाई १५ अर्ब ५० करोड डलर बराबरको राहत कार्यक्रम सार्वजनिक गरेको छ ।

अमेरिकाले जापानसहित धेरै देशका सामानहरूमा १० प्रतिशतको आधारभूत आयात कर तथा गाडी, फलाम र आल्मुनियममा अझै बढी दरको कर लगाएको छ जसको प्रत्यक्ष असर जापानी व्यवसायहरूमा परेको छ ।

सरकारले साना व्यवसायहरूलाई सहज ऋण, ऋण शर्तहरूमा सहुलियत तथा सरकारी ऋण संस्थामार्फत आर्थिक सहायता प्रदान गर्ने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले लेखेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मार्च महिनामा जापानका सामानहरूमा २४ प्रतिशत बराबरको ‘प्रतिशोधात्मक’ कर घोषणा गर्नुभएको थियो तर त्यो निर्णय जुलाई महिनाको शुरूसम्मका लागि रोकिएको छ । जापानले ती करहरू पूर्णरूपमा हटाउन आग्रह गरिरहेको छ । त्यसका लागि सरकारी प्रतिनिधि चाँडै चौथो चरणको वार्ताका लागि अमेरिका जाँदैछन् ।

प्रधानमन्त्री शिगेरु इशिबाले आउँदो महिना क्यानडामा हुने सात राष्ट्रको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गरेर सहमति जुटाउने सङ्केत दिनुभएको खबरमा उल्लेख छ ।

यस्तै जापान सरकारले बढ्दो बिजुली तथा ग्यासको मूल्यका कारण नागरिकमा परेको असर कम गर्न आउँदो तीन महिनाका लागि दुई खर्ब ८८ अर्ब येन बराबरको सहयोग प्रदान गर्ने जनाएको छ ।

साथै सरकारले अस्पताल, विद्यालय तथा साना उद्योगहरूलाई थप विशेष सहायता प्रदान गर्ने योजना पनि अघि सारेको छ ।

प्रकाशित : १३ जेष्ठ २०८२, मंगलबार, ,