अन्तरराष्ट्रिय

सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने



विश्व । सिंगापुरमा मुटु रोग चाँडै पत्ता लगाउने एआई प्रणाली परीक्षण गरिने भएको छ । सिंगापुरको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण गर्न लागेको हो ।

यो प्रणालीले मुटुको स्क्यान चाँडो हेर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन २ देखि ४ घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

यसअघि यो प्रणाली परीक्षण गरिएको बेलामा ८५ प्रतिशतदेखि ९९ प्रतिशतसम्म सही नतिजा दिएको थियो । अब यो प्रणाली एक वर्षसम्म अस्पतालहरूमा प्रयोग गरेर त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेरिनेछ ।

सिंगापुर मुटु घाउ विश्लेषक नाम दिइएको यो प्रणाली यही वर्ष सन् २०२५ को सेप्टेम्बरदेखि अक्टोबरसम्म  प्रयोगमा ल्याइनेछ ।

सिंगापुरमा मुटुको समस्या हुने रोग सबैभन्दा धेरै मानिसको ज्यान लिने कारण भएको अध्ययनहरुले देखाएका छन् ।

सन् २०२२ मा आठ हजार तीन सय ११ जनाको मुटुसम्बन्धी रोगका कारण ज्यान गएको  थियो, जुन कुल मृत्युमध्ये लगभग ३० प्रतिशत हो ।

प्रकाशित : ८ जेष्ठ २०८२, बिहिबार, ,