काठमाडौँ । सरकारले सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ । सभामुख देवराज घिमिरेले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २२, २३, २४, २५, २६ छलफल हुने र २८ सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची तय गरेको जानकारी दिएका हुन् ।

छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने सभामुख घिमिरेले सदनमा बताए । छलफलमा भाग लिने सांसदहरूको नाम सम्बन्धित दलका पदाधिकारीले संसद् बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अगावै कार्य व्यवस्था शाखा प्रतिनिधिसभा सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा उपलब्ध गराउनुपर्ने घिमिरेले बताए ।
त्यस्तै नीति तथा कार्यक्रममाथि दुई दिन संशोधन पेस गर्ने समय पनि सभामुख घिमिरेले तोकेका छन् । घिमिरेले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि दिनको ३ बजेभित्र कार्य व्यवस्था शाखामा संशोधनको प्रस्ताव दिन सकिने समय तोकेको जानकारी सदनमा दिए । उनले संशोधनको सूचना फाराम त्यही शाखामा नै पाइने जानकारी दिए ।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ । आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रम टेबुल भएको छ ।सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।
बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राख्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
प्रतिक्रिया